नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीलाई पितृ शोक परेको छ । अध्यक्ष सुवेदीका पिता ज्ञानबहादुर सुवेदीको ९० वर्षको उमेरमा निधन भएको हो ।
बुधबार बिहान ९ः३० बजे प्रादेशिक अस्पताल, कलैयामा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उपचारका लागि केही दिनदेखि अस्पतालमा भर्ना भएका ज्ञानबहादुर सुवेदी दीर्घरोगबाट पीडित रहेको परिवारले जानकारी दिएको छ । वृद्ध अवस्थामा विभिन्न स्वास्थ्य समस्याले थलिएका सुवेदीलाई परिवारले कलैया अस्पतालमा लगेर उपचार गराउँदै आएका थिए । तर, स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सकले बुधबार बिहान निधन भएको घोषणा गरेका हुन् ।
यसैबीच, दिवंगत ज्ञानबहादुर सुवेदीको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कलैया बघवन पसाहा खोला तटमा गरिने भएको छ । सुवेदी परिवारका अनुसार, दिवंगत ज्ञानबहादुर सुवेदी बारा जिल्लाका समाजसेवीसमेत रहेका थिए । आफ्नो जीवनकालमा उनले विभिन्न सामाजिक तथा धार्मिक गतिविधिमा योगदान पुर्याएका थिए ।
उनको निधनप्रति स्थानीय जनप्रतिनिधि, पत्रकार, शुभेच्छुक तथा सर्वसाधारणले शोक व्यक्त गरेका छन् ।
हाल सुवेदी परिवार शोकमग्न रहेको छ ।