काठमाडौं | उपप्रधानमन्त्री र शहरी विकासमन्त्री प्रकाशमान सिंह ले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियम को निरीक्षण गरेका छन् । सिंहले सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निर्माण कार्यको निगरानी गर्दै कामको गति बढाउन र निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक व्यवस्था मिलाउन जोड दिएका छन् ।
सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय ले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्याराफिट निर्माण र फ्लडलाइट जडान गर्ने कामलाई गत फागुन महिनामा सम्झौतासँगै अगाडि बढाएको हो । निर्माण कार्यको लक्ष्य आगामी वैशाख २४ गते भित्र यो काम पूरा गर्ने राखिएको छ ।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल ले बताए अनुसार, अब निर्माण कार्यको नियमित निरीक्षण मन्त्रालयबाटै गरिनेछ। उनले भने, "आजदेखि मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ र निर्धारित समयमै काम सक्नका लागि उनको चासो छ ।"
गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुरको निर्माण कार्यको प्रत्यक्ष निरीक्षण गरेका थिए । आगामी वैशाख २४ गतेभित्र १० हजार क्षमताको प्याराफिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।