नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको नवौँ खेलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् ।
काठमाडौंमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। वर्षाका कारण शनिबार निर्धारित खेलहरू प्रभावित भएपछि आजको खेल भने निर्वाध रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
शनिबार पहिलो खेलमा लुम्बिनी र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने तालिका थियो। तर वर्षाका कारण खेल रद्द भएको थियो । दोस्रो खेलमा विराटनगर र सुदूरपश्चिमले पाँच–पाँच ओभर खेलेका थिए। उक्त खेलमा विराटनगर विजयी भएको थियो ।
आजको खेल जनकपुरका लागि प्रतियोगितामा तेस्रो खेल हुनेछ। यसअघि दुई खेल खेलेको जनकपुरले एकमा जित र एकमा हार बेहोरेको छ ।
यता पोखरा एभेन्जर्सले प्रतियोगितामा अहिलेसम्म एक खेल खेलेको छ। उक्त खेलमा पोखरा पराजित भएको थियो ।
त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ। जनकपुर आफ्नो जितको लय कायम राख्न चाहन्छ भने पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रिनेछ ।