काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टिमको व्यवस्थापनका लागि प्रो लाइसेन्स प्रशिक्षक ल्याउने निर्णय गरेको छ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, प्रो लाइसेन्स प्रशिक्षकको लागि आवेदन खुलाउने तयारी भइरहेको छ ।
शाहले अन्नपूर्ण पोस्टलाई जानकारी दिँदै भने, "२/३ दिन भित्रमा प्रशिक्षकका लागि आवेदन खुलाउने तयारी गरिरहेका छौं।" उनले महिला टिमका लागि उपयुक्त प्रशिक्षक ल्याउन प्रयास भइरहेको जानकारी पनि दिए ।
"हामीले स्वदेशी वा विदेशी भनेर विशेष भेदभाव नगर्नेछौं । प्रो लाइसेन्स भएका प्रशिक्षकको लागि आवेदन खुलाउने छौं जसले महिला टिमलाई उच्च स्तरमा पुर्याउन सक्षम हुनेछन्," शाहले थपे ।
महिला टिमको स्तरोन्नति र उत्कृष्ट नतिजाका लागि एन्फाले प्रो लाइसेन्स प्रशिक्षक भित्र्याउने निर्णय गरेको हो। यसअघि, एन्फाले पुरुष टिमका लागि अष्ट्रेलियन प्रशिक्षक म्याट रोसलाई नियुक्त गरेको थियो ।