सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको ‘ए’ डिभिजन भिडन्तमा हिमालयन शेर्पा क्लबले फ्रेण्ड्स क्लबलाई १–० ले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा हिमालयन शेर्पाका लागि खेलको ९ औं मिनेटमा भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोल निर्णायक बन्यो । विनु आले मगरको पासमा पहिलो प्रहार रोकिएपनि, रिवाउण्ड बलमा रोबर्टले सहज गोल गर्न सफल भएका थिए ।
खेलभर फ्रेण्ड्स क्लबले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङमा कमजोरी देखिएपछि प्रतियोगिताबाट बाहिरिन बाध्य भएका छन् । खेलको ६ औं मिनेटमा विशाल ठकुरीले वन भर्सेस वनको अवसर गुमाएका थिए । त्यसैगरी, ४४ औं मिनेटमा शुसील लामाको प्रहारलाई हिमालयन शेर्पाका गोलरक्षक विवश चौधरीले उत्कृष्ट बचाउ गरे ।
खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित भएसँगै उनले १० हजार नगद र ट्रफी प्राप्त गरे । पुरस्कार आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डे र ग्रीन इनर्जीका सञ्चालक स्वीकार ढकालले प्रदान गरेका थिए ।
यो जितसँगै हिमालयन शेर्पा क्लबले सेमीफाइनलमा आयोजक नवजनजागृति युवा क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार साँझ हुने पहिलो सेमीफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब र चितवनको हनामी बीएफसी भरतपुरबीच भिडन्त हुनेछ ।