मछिन्द्र फूटबल क्लब १५औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा मछिन्द्रले हानामी बिएफसी भरतपुरलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
यस जितसँगै मछिन्द्र लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । १४औं संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै मछिन्द्रले उपाधि गुमाएर उपविजेता बनेको थियो । यसपटक भने पहिलो खेलमै पुलिसलाई टाइब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको मछिन्द्रले अब उपाधि ल्याउने मौका पाएको छ ।
सेमिफाइनल खेलमा मछिन्द्रका अनिल राना मगरले खेलको ६८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । भरतपुरले खेलमा केही उत्कृष्ट अवसर बनाए पनि गोलमा परिणत गर्न नसक्दा पराजित हुन बाध्य भयो । भरतपुरले क्वार्टरफाइनलमा सलहेश युवा क्लब सिरहालाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
खेलको "ग्रिन इनर्जी प्लेयर अफ द म्याच" मछिन्द्रका रेजिन सुब्बा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइवा र ग्रिन इनर्जी ईण्डष्ट्रिजका सञ्चालक शैलेश शाह ठकुरीले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बुधबार साँझ ६ बजे सिमरा रंगशालामा हुने छ । उक्त खेलमा आयोजक नव जनजागृति युवा क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएकाे छ ।