पर्साको खुवाप्रसौनी गाउँपालिका–४ स्थित वडा कार्यालयमा मंगलवार राति अज्ञात समूहले तोडफोड गरेको छ ।
वडा कार्यालयको ढोका फोरेर भित्र प्रवेश गरेका व्यक्तिहरूले कार्यालयका फर्निचर तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजात र फाइलहरू च्यातेर छरेका छन् ।
वडाध्यक्ष मोहम्मद आरिफ अन्सारीका अनुसार कार्यालयमा मंगलबार राति तोडफोड भएको हो । बुधवार बिहान कार्यालय खोल्दा फर्निचर भत्किएको, कागजपत्र च्यातिएको र कार्यालय अव्यवस्थित अवस्थामा भेटिएको उनले जानकारी दिए। “अहिलेसम्म यो कार्य कसले र किन गरेको भन्ने विषयमा कुनै सूचना प्राप्त भएको छैन,” अन्सारीले भने ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । प्रहरी निरीक्षक प्रकाश थापाले तोडफोडबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको र घटनामा संलग्नको पहिचानका लागि अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
स्थानीय प्रशासनले घटना गम्भीर भएको भन्दै दोषी पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ ।
यस किसिमको तोडफोड प्रशासनिक कार्यमा अवरोध सिर्जना गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गम्भीर अपराध अन्तर्गत पर्ने भएकाले दोषीलाई कारबाहीको माग गर्दै स्थानीयबासीले घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।