करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको केरला राज्यस्थित मुलरिया ठेगाना भएका २९ वर्षीय अब्दुल नौसाद रहेका छन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्राप्त जानकारीअनुसार, नौसाद बाटिक एयरको उडानमार्फत थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए । विमानस्थलमा जाँच गर्ने क्रममा उनीसँग रहेको थाई गाँजा बरामद भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका नौसादमाथि लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले थप अनुसन्धान अघि बढाएको छ ।