वीरगंज कपडा बैंकले पर्साको बहुदरमाई मेलामा श्रद्धालु भक्तजनलाई निःशुल्क कपडा वितरण गरेको छ ।
कार्तिक पूर्णिमा स्नानको अवसरमा बहुदरमाई नगरपालिका–२, ध्यानचन्द पिपरामा रहेको प्रसिद्ध बहुदरमाई मन्दिर परिसरमा आयोजित पाँचदिने मेलाको तेस्रो दिन बैंकले कपडा वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
वीरगंज कपडा बैंकका सदस्य तथा युवा समाजसेवी नवराज भट्टराईका अनुसार मेलामा आएका श्रद्धालु भक्तजनलाई नयाँ तथा पुराना गरी करिब १ हजार ५०० थान कपडा वितरण गरिएको हो ।
बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता तथा युवा समाजसेवी केदार गुप्ताको संयोजनमा आयोजित कार्यक्रममा समाजसेवी विन्देश्वरी प्रसाद कुर्मी (पटेल), डा. कुमोद ठाकुर, युवा समाजसेवी नागेन्द्र प्रसाद यादव, राजु पटेल, धीरेन्द्र ठाकुर, बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी, सदस्यहरू शिव श्रेष्ठ, सुरज श्रीवास्तव, कर्मचारी मिथलेश श्रीवास्तव तथा सञ्चारकर्मी रामजी यादव र श्रीरामकुमार साहलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी समाजसेवी तथा अतिथिहरूले ‘कोही नाङ्गो नरहोस्’ भन्ने उद्देश्यका साथ वीरगञ्जसहित ग्रामीण क्षेत्रका विपन्न तथा असहाय व्यक्तिहरूलाई नयाँ र पुराना कपडा उपलब्ध गराउँदै आएको बैंकको अभियानको प्रशंसा गरेका थिए।
उनीहरूले बहुदरमाई मेलामा समेत पुगेर श्रद्धालु भक्तजनलाई कपडा वितरण गर्नु सराहनीय कार्य भएको बताउँदै समाजसेवाका लागि सबैको सामूहिक सहकार्य र हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, सबैलाई आ–आफ्नो क्षमताअनुसार परोपकारी अभियानमा सहभागी हुन आग्रह गरेका थिए।
कार्यक्रममा बैंकका अध्यक्ष लालबाबु सिंहले ‘कोही नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै विगत सात वर्षदेखि नयाँ तथा पुराना कपडा संकलन र वितरणमार्फत विपन्न तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आएको बताए।
उनले गत वर्षझैँ यस वर्ष पनि बहुदरमाई मेलामा पुगेर सेवा गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै बैंकको मानवीय अभियान र कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाता, सल्लाहकार, शुभेच्छुक, समाजसेवी अतिथि, पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरे।
वीरगञ्ज कपडा बैंकले विगत सात वर्षदेखि विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउँदै सामाजिक सेवाको अभियान सञ्चालन गर्दै आएको छ।