पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकै लागुऔषध गाँजा जस्तो देखिने ५ किलो ७५० ग्राम पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
मंगलबार बिहान भारततर्फ गइरहेका पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा शरीरमा लुकाइछिपाइ राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो ।
पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–३, झबराहा निवासी २९ वर्षीय पंचलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन् । प्रहरीका अनुसार, पंचलाल र मुकेश माझीको शरीरमा टेपले बेरी लुकाइएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलो ८७५ ग्राम–२ वटा गरी जम्मा ५ किलो ७५० ग्राम बरामद गरिएको हो ।
उनीहरूलाई प्रहरी चौकी ईनर्वा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिई उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।