पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैबाट चरेश जस्तो देखिने लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार दिउँसो करिब १२ः३० बजे नेपालबाट भारततर्फ गइरहेका पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारत बिहारको मोतिहारी जिल्ला सुगौली थाना, ग्राम छपरा वडा नम्बर ७ निवासी ४५ वर्षीय बिकाश साह कानु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, उनले लगाएको खरानी रंगको बण्डीको भित्री भागमा प्याकेट बनाएर लुकाइएको अवस्थामा पहेलो प्लास्टिक र टेपले बेरेको ४ प्याकेट चरेश जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त चारवटा प्याकेटमा करिब २ किलो चरेश जस्तो देखिने पदार्थ रहेको प्रहरीले जनाएको छ ।
संयुक्त चेकिङका लागि खटिएको प्रहरी चौकी इनर्वा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शंकास्पद देखिएपछि खानतलासी गर्दा लागुऔषध फेला पारेको हो ।
पक्राउ परेका कानुलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।