ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।
बुधबार राति सिमरा रंगशालामा भएको सेमिफाइनल खेलमा आयोजक नवजनजागृति युवा क्लब, सिमरालाई २–१ गोल अन्तरले पराजित गर्दै शेर्पाले उपाधि भिडन्तमा मच्छिन्द्र क्लबसँगको भेट पक्का गरेको हो । करिब १० हजार दर्शकको समर्थनमा मैदान उत्रिएको आयोजक टोलीलाई स्तब्ध पार्दै शेर्पाले चौथो पटक फाइनल पुग्ने सफलता हात पारेको हो । यसअघि प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको शेर्पा क्लब चौथो र तेह्रौं संस्करणको फाइनलमा पराजित भएको थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा शेर्पाले दुई गोल गर्दै स्पष्ट अग्रता बनाएको थियो । खेलको ४७औं मिनेटमा भारतीय खेलाडी रोबर्ट खोङजोले शिवम् खड्काको क्रस पासलाई डिबक्सभित्र नियन्त्रणमा लिँदै आकर्षक गोल गरे ।
त्यसपछि खेलको ५८औं मिनेटमा समिरराज थोकरले अग्रता दोब्बर बनाउँदै टोलीलाई २–० को अवस्थामा पुर्याए । थोकरको पहिलो प्रहार आयोजक गोलरक्षक युनेश चौधरीले बचाए पनि रिवाउन्ड बलमा दोस्रो प्रहारमा गोल गरेका थिए । आयोजक सिमराका लागि ७३ औं मिनेटमा युवराज खड्काले गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि त्यो प्रयत्न पर्याप्त हुन सकेन। युवराजले मोहित गुरुङको क्रस पासमा उत्कृष्ट गोल गरेका थिए ।
खेलमा निर्णायक प्रदर्शन गरेका हिमालयन शेर्पाका रोबर्ट खोङजो ‘ग्रीन इनर्जी म्यान अफ दि म्याच’ घोषित भए। उनलाई VXEL Education का सञ्चालक उत्सव नराल र Green Energy का सञ्चालक शैलेश साहले नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार साँझ ६ बजे सिमरा रंगशालामा हुनेछ । फाइनलको समापन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि हुने आयोजक अध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन् ।