हङकङ । चार राष्ट्र सहभागी टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि कुवेतले जितेको छ। हङकङमा आयोजित प्रतियोगिताको फाइनलमा नेपाललाई ३ रनले पराजित गर्दै कुवेत विजेता बनेको हो ।
नेपालले टस जितेर बलिङ रोजेपछि कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। जवाफमा नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमै समेटिएको हो ।
नेपालका लागि बसिर अहमदले ८० रनको उत्कृष्ट पारी खेले भने नन्दन यादवले ३७ रन बनाए। यद्यपि अन्य ब्याट्सम्यानको कमजोर प्रदर्शनका कारण नेपाल जितबाट चुक्यो ।
नेपालले सुरुवाती ४ विकेट २८ रनमै गुमाएको थियो। एक समय ९२ रनमा ८ विकेट गुमाएको अवस्थामा बसिर र नन्दनले नवौं विकेटका लागि ७२ रनको साझेदारी गर्दै आशा जगाएका थिए। तर, अन्तिम ओभरमा आवश्यक ११ रन बनाउन नसक्दा नेपाल ३ रनले हार्न बाध्य भयो ।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले समान २ विकेट लिए भने करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए ।
यसै प्रतियोगितामा नेपालले लिग चरणमा कुवेत र कतारलाई हराउँदै फाइनल पुगेको थियो ।
यसअघि भएको तेस्रो स्थानको खेलमा आयोजक हङकङले कतारलाई १ रनले हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।