धार्मिक सद्भाव बिथोल्ने र ताेडफाेड गर्ने आरोपमा हिन्दुवादी केही युवाहरूलाई प्रहरीले पक्राउ गरेपछि पर्सा जिल्लाको परवानीपुरमा टायर बालेर प्रदर्शन शुरू भएको छ ।
पक्राउको विरोधमा हिन्दुवादी युवाहरूले मंगलबार परवानीपुर बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले प्रहरीले हिन्दू समुदायमाथि एकतर्फी कारबाही गरेको आरोप लगाउँदै नाराबाजीसमेत गरेका थिए । उनीहरूले “हिन्दूमाथि अन्याय बन्द गर”, “समान व्यवहार गर” जस्ता नाराहरू लगाउँदै केहीबेर बजार क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । टायर बालिएपछि केही समय सवारी आवागमन पनि प्रभावित भएको थियो ।
प्रदर्शनकारीमध्ये एक युवाले भने, “प्रहरीले रामनवमीको शान्तिपूर्ण जुलुसमाथि ढुंगा प्रहार गर्नेहरूलाई उन्मुक्ति दिँदै उल्टै हिन्दू युवाहरूलाई गिरफ्तार गर्यो, जुन सरासर अन्याय हो ।” उनले घटनाको निष्पक्ष छानबिन र गिरफ्तारीको पुनरावलोकनको माग गरे ।
प्रदर्शनको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पर्सा प्रहरी प्रमुख गाैतम मिश्रका अनुसार, कसैको धार्मिक पहिचानका आधारमा नभइ घटनामा संलग्न प्रमाणित भएकाहरूलाई मात्र पक्राउ गरिएको बताए ।