काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत हङकङविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै लगातार तेस्रो जित निकालेको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमै १ विकेटको क्षतिमा सजिलै पूरा गर्यो । ओपनर साहिल पटेलले ४२ रन बनाए भने कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे। निरज यादवले २३ रनको योगदान दिए ।
हङकङका बलर सयान पुरीले एक मात्र विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा ११५ रनमा सबै विकेट गुमायो। शिव माथुरले ११६ बलमा सर्वाधिक ६३ रन बनाए भने आर्या पञ्जवानीले १३ र वीर माथुरले १२ रन जोडे ।
नेपालका लागि युवराज खत्रीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए। विपीनप्रसाद शर्माले ३ विकेट तथा सन्तोष यादवले २ विकेट हात पारे ।
नेपालले यसअघि पहिलो खेलमा युएईलाई डकवर्थ-लेविस पद्धतिअनुसार ५ रनले र दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको थियो ।
नेपालले अब शनिबार हुने अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।