काठमाडौं । एक दशकअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर संकटमा परेको छ । बीमा बोर्डको खातामा झण्डै ६ अर्ब रुपैयाँ थन्किएको छ तर, १३ महिनादेखि सेवा प्रदायक संस्थाहरूले भुक्तानी नपाएर समस्या भोगिरहेका छन् ।
नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको कार्यक्रमको विश्वासनीयता अहिले गुम्ने अवस्थामा पुगेको छ । न त भुक्तानी समयमै भइरहेको छ, न त नेतृत्वमा कुनै स्पष्ट निर्णय क्षमता देखिएको छ ।
वरिष्ठ कर्मचारीहरू निर्णयविहीन अवस्थामा बसेको आरोप लागेको छ । पर्याप्त बजेट हुँदाहुँदै पनि त्यसको उचित प्रयोगको कुनै खाका तयार नगरिनु र आवश्यक निर्णय नभएसँगै देशभरका अस्पताल तथा स्वास्थ्य संस्था संकटमा परेका छन् ।
सेवा प्रदायकहरूले नियमित तलब, औषधि खरिद, उपकरण मर्मतजस्ता अत्यावश्यक काममा समस्या भोगिरहेका छन् । कतिपय संस्था स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा बन्द गर्ने तयारीमा छन् ।
यसैबीच, नीति निर्माताहरूले समस्या समाधानका लागि ठोस योजना ल्याउनुको सट्टा केवल बैठक र घोषणामा सीमित भएको भन्दै आलोचना हुन थालेको छ । यदि तत्काल सुधार योजना नआए समग्र बीमा कार्यक्रम नै धराशायी हुने जोखिम देखिएको छ ।