काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र पुनःस्थापनाको अभियानप्रति भारत सरकार वा भाजपा कुनै प्रकारले संलग्न नरहेको स्पष्ट पारेका छन् ।
शुक्रवार नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’सँगको भेटमा उनले नेपालको वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको भारतले सम्मान गर्ने धारणा राखेका हुन् । पुनको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “नेपालमा चलिरहेको राजावादी मुभमेन्टसँग भारतको कुनै प्रकारको समर्थन वा सम्बन्ध नरहेको डा. चौथाइवालेले स्पष्ट पार्नुभयो ।”
भेटवार्तामा दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्ने, आगामी दिनमा सहकार्य र मित्रता थप विस्तार गर्ने विषयमा सहमति बनेको विज्ञप्तिमा जनाइएको छ ।
यस अवसरमा चौथाइवालेले जम्मु–कश्मीरको पहलगाममा हालै भएको आतंकी हमलाप्रति नेपालका केही राजनीतिक दलहरूले व्यक्त गरेको ऐक्यबद्धता र समर्थनप्रति भारत सरकारको आभारसमेत व्यक्त गरेका थिए ।