काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवामा महिलाका लागि छुट्याइएको ५० प्रतिशत पदमध्ये दलित समुदायलाई १२ प्रतिशत छुट्याइएको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा पेस भएको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले महिला समावेशी पदबाहेक अन्य पचास प्रतिशत समावेशी पदमध्ये दलित समुदायलाई १५ प्रतिशत पद छुट्याइएको जानकारी दिए ।
प्रस्तावित दलितहरूको हक अधिकार तथा विकास ऐन, २०८१ तर्जुमा सम्बन्धी अवधारणा पत्र सहमतिका लागि राष्ट्रिय दलित आयोगमा पठाइएको पनि मन्त्री गुप्ताले जानकारी दिए ।
उनले दलित समुदायको सशक्तीकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरण गठन गर्ने विषयमा पनि दलित आयोगबाट सकारात्मक धारणा आएको उल्लेख गरे ।