तीन वर्षअघि पोखरिया नगरपालिकामा वेहुली बिदाइको विषयलाई लिएर भएको झगडामा वृद्धको मृत्यु भएको घटनामा संलग्न मुख्य आरोपितमध्ये एक सिकेन्द्र प्रसाद चौहान तीन वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ परेका चौहान (उमेर ३६), पर्सा जिल्ला, पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया निवासी हुन् । उनलाई प्रहरीले यही २०८२ साल वैशाख २२ गते पक्राउ गरेको हो । उनलाई प्रारम्भिक अनुसन्धानपछि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) अन्तर्गत पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
घटनाको पृष्ठभूमि अनुसार, २०७६ साल वैशाख ४ गते पोखरिया ६ श्रीसियाका धर्मेन्द्र प्रसाद चौहान र पोखरिया ५ सतवरियाकी निशा कुमारी चौहानबीच सामाजिक परम्पराअनुसार विवाह सम्पन्न भएको थियो । तर, विवाहको दिन नै वधू पक्षले वेहुलीको बिदाइ गर्न नमानेपछि दुवै पक्षबीच मनमुटाव उत्पन्न भएको थियो ।
साेहि विवाद २०७९ साल वैशाख ९ गते पोखरिया ४ स्थित वाल उद्यान अंग्रेजी बोर्डिङ स्कूलको प्रांगणमा झगडामा परिणत भएको थियो । झगडाका क्रममा धर्मेन्द्रका बुबा ६० वर्षीय शंकर प्रसाद महतो चाईको टाउकोमा गम्भीर चोट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा २०७९ जेठ ११ गते काठमाडौंस्थित शहीद गंगालाल अस्पतालमा उनको मृत्यु भएको थियो ।
घटनापछि पीडित परिवारले किटानी जाहेरी दिएअनुसार आरोपीहरूको खोजी भइरहेकोमा घटनामा संलग्न फरारमध्ये एक सिकेन्द्र प्रसाद चौहानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।