नमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ मा निर्माण हुन लागेको ‘माटो पार्क’को शनिबार एक कार्यक्रमबीच शिलान्यास गरेका छन् ।
मधेश प्रदेश सरकारको एक करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको यो पार्कलाई जनमत पार्टीको विशेष परियोजनाका रूपमा अघि सारिएको छ । पार्कमा मधेश प्रदेशका १३६ वटै पालिकाबाट संकलन गरिएको माटोलाई प्रतिष्ठान गर्ने योजना छ । यसअघि डा. राउतले सञ्चालन गरेका ‘माटो यात्रा’ अभियानअन्तर्गत संकलित माटोलाई पार्कमा प्रतिस्थापन गरिनेछ। राउतले उक्त पार्कलाई मधेशको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गरिने लक्ष्य लिएको बताए ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, पर्सा वन डिभिजन कार्यालयका प्रमुख मंजुर अहमद, पोखरिया नगरपालिकाका मेयर प्रधुम्न चौहान, उपमेयर रूबी ठाकुर, वडा नं. ९ का वडा अध्यक्ष नवसाद अालम तथा जनमत पार्टीका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
पार्क निर्माणपश्चात यसले पर्यटकीय आकर्षण बढाउनुका साथै मधेशको ऐतिहासिक र सांस्कृतिक चेतनाको अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
साथै, परियोजनाले मधेशको साझा पहिचान स्थापित गर्ने प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।