काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले छठ पर्वलाई क्षेत्रीय पर्वका रूपमा सीमित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान दिलाउनुपर्नेमा जोड दिएका छन् ।
छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष साहले वैज्ञानिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको छठ पर्वलाई विश्वव्यापी बनाउन सरकार र सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार छठ पर्वलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउन सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्छ ।
साहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वमा सरकारले दुई दिन मात्रै सार्वजनिक बिदा दिएकोप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले पर्वको महत्त्व र धार्मिक परम्परालाई ध्यानमा राख्दै चारै दिन सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् ।
छठ पर्व मधेशमा मात्रै सीमित नरहेको उल्लेख गर्दै उनले देशका विभिन्न भूभागका साथै विदेशमा रहेका नेपाली समुदायले समेत श्रद्धा र भक्तिपूर्वक मनाउने गरेको बताएका छन् । त्यसैले यस पर्वलाई क्षेत्रीय पहिचानमा सीमित नगरी राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष साहले छठ पर्वले समाजमा प्रेम, आपसी सद्भाव, एकता र सहकार्यको भावना अझ प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।