जनकपुरधाममा यस वर्ष मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ । महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो ।
जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले आगामी मंसिर २३ गतेदेखि सुरु हुने साताव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ ।
मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार महोत्सव व्यवस्थापनका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि गेट, पण्डाल व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा विद्युत् आपूर्तिलगायतका विषयमा विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ ।
उनले महोत्सवलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सरकारी निकायबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताए ।
विवाहपञ्चमी महोत्सवमा नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु तथा दर्शनार्थी जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, सत्कार र सुविधालाई विशेष प्राथमिकता दिनुपर्नेमा बैठकका सहभागीहरूले जोड दिएका थिए ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले महोत्सवमा सहभागी हुन आउने श्रद्धालु तथा दर्शनार्थीको स्वागत र व्यवस्थापनमा कुनै कमी हुन नदिन जनकपुरधामवासीलाई आग्रहसमेत गरेको छ ।
प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवमा नेपाल र भारतका हजारौँ श्रद्धालुको सहभागिता रहने गर्दछ । भगवान् राम र माता सीताको विवाह उत्सवका रूपमा मनाइने यस महोत्सवले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्दै आएको छ ।