पर्साको वीरगञ्जमा एक विवाहिता महिलामाथि जबरजस्ती करणी (बलात्कार) गरिएको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्ति बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६, बेलहिया स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका–१३, श्रीपुरमा बसोबास गर्ने ५० वर्षीय दिनानाथ साह हुन् ।
प्रहरीका अनुसार, शनिबार मध्यरातको समयमा वीरगञ्जकै ४० वर्षीया एक महिलालाई साह र उनैसँग रहेका अर्का एक पुरुषले डरधम्की देखाउँदै जबरजस्ती बलात्कार गरेका थिए । पीडित महिलाले प्रहरीलाई दिएको बयानअनुसार, ती पुरुषहरूले मौका छोपेर महिलाको मुख थुनेर बलात्कार गरेका थिए ।
घटना सार्वजनिक भएपछि पीडित महिलाले आइतबार बिहान प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले घटनाको पुष्टि गर्दै अर्का संलग्न पुरुषको पहिचान भइसकेको र उनी हाल फरार रहेको जानकारी दिए । उनको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका साहमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।