मधेश प्रदेश सरकारका गृहमन्त्री, सञ्चार तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखीले जनकपुरधाममा निर्माणाधीन थारु कुटी परियोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
गृह मन्त्रालयको विशेष प्राथमिकतामा परेको यस परियोजना चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक बजेट अन्तर्गत ३५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको हो । यो कुटी थारु समुदायको सांस्कृतिक पहिचान संरक्षण, प्रवर्द्धन तथा पर्यटन प्रवाह बढाउने उद्देश्यले निर्माणाधीन रहेको मन्त्रालयले जनाएको छ ।
निरीक्षणका क्रममा मन्त्री लेखीले हालसम्मको निर्माण प्रगति सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् । उनले बाँकी कार्य समयमै सम्पन्न गरी गुणस्तरीय बनाउन निर्माणसँग सम्बन्धित प्राविधिक, इन्जिनियर तथा निर्माण श्रमिकहरुलाई निर्देशन दिएका छन् ।
"थारु समुदायको सांस्कृतिक धरोहर जोगाउन थारु कुटी महत्त्वपूर्ण आधार बन्नेछ," मन्त्री लेखीले भने, "यसको समयमै सम्पन्नता र गुणस्तरमा कुनै सम्झौता हुन दिन्न ।"
मन्त्री लेखीको विशेष पहलमा सुरु गरिएको यो परियोजनाले थारु समुदायको सामाजिक तथा सांस्कृतिक पहिचानलाई संस्थागत बनाउने अपेक्षा गरिएको छ । जनकपुरधामको पर्यटकीय महत्वसमेत जोडिएको यस कुटीले आगन्तुकलाई थारु परम्परा, जीवनशैली र वास्तुकलाको नजिकबाट अवलोकन गर्ने अवसर दिनेछ ।
थारु कुटी निर्माणस्थलमा स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका अधिकारी, निर्माण कम्पनीका प्रतिनिधिहरू तथा थारु समुदायका अगुवा व्यक्तिहरूको उपस्थिति थियो ।
यस परियोजनाले स्थानीय रोजगारी सिर्जना गर्नेसमेत अपेक्षा गरिएको छ। साथै, आगामी वर्षदेखि यहाँ नियमित रुपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने गृह मन्त्रालयले जनाएको छ ।
भिडियाे सामाग्री