नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीले पर्साका सरकारी कार्यालयमा देखिएको अनियमितता, भ्रष्टाचार, बिचौलियाको प्रभाव लगायतका विषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा पार्टीले सुशासनको प्रत्याभूति दिन सरकारसँग आग्रह गरेको छ ।
"बिचौलियाविना सेवा असम्भव"
ज्ञापनपत्रमा एमालेले पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयहरू — यातायात व्यवस्था, मालपोत, नापी, भन्सार, विद्युत प्राधिकरण लगायतमा बिचौलियाविना नागरिकले सेवा नपाउने अवस्था रहेको आरोप लगाएको छ ।अध्यक्ष नवराज शर्माको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, "जनतालाई दैनिक कामका लागि कार्यालय धाउनुपरेको छ, तर पैसा र प्रभावबिना सेवा पाउन गाह्रो भएको छ ।"
प्रहरी प्रशासनप्रति असन्तुष्टि
एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति समेत गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। पार्टीले राजनीतिक र सामाजिक प्रभावमा परेर काम गर्ने, सामान्य विवादमा मुद्दा थोपर्ने प्रवृत्तिको आलोचना गरेको छ ।
विकास निर्माणमा कमिसनको खेल
ज्ञापनपत्रमा विकास निर्माणको गुणस्तर खस्किएको, प्रभावकारी अनुगमन नभएको र कमिसनको खेल मौलाएको उल्लेख गरिएको छ। पार्टीले सुधारका लागि तत्काल संयन्त्र निर्माणको माग गरेको छ ।
स्थानीय तह पनि निष्क्रिय
महानगर कमिटीले स्थानीय तहको भूमिकाप्रति पनि प्रश्न उठाउँदै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान नदेखिएको र तीनै तहको सरकारमध्ये स्थानीय तह “निष्क्रिय जस्तो देखिएको” भनिएको छ ।
राहत र क्षतिपूर्ति अझै अपूरो
झण्डै पाँच महिनाअघि जगरनाथपुरमा आगलागी हुँदा जलेको ४ बिघा धान खेतको राहत अझै नपाएको, बन्दरगाह क्षेत्रको अधिग्रहणपछिको क्षतिपूर्तिसमेत बाँकी रहेको भन्दै तत्काल कदम चाल्न माग गरिएको छ ।
"प्रधानमन्त्रीको भनाइलाई पर्साका कार्यालयले चुनौती दिए"
विज्ञप्तिमा भनिएको छ, "भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइ पर्साका सरकारी कार्यालयमा चुनौती बनेको छ ।" एमालेले यस्ता बेथितिहरू स्वीकार्य नहुने उल्लेख गर्दै सुधार नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
ज्ञापन बुझाउने टोलीमा एमाले वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा, केन्द्रीय सल्लाहकार तथा महानगरका पूर्वप्रमुख बिजय कुमार सरावगी, महानगर इञ्चार्ज विचारी यादव, सचिव जयनारायण सिंह कुर्मी, लेखा समिति अध्यक्ष अजय साह र वडा नम्बर १७ का अध्यक्ष सञ्जिव बहादुर क्षेत्री लगायतको उपस्थिति थियो ।