पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–१ स्थित टाँडी क्षेत्रबाट करिब ३० किलो लागुऔषध गाँजासहित एक मोटरसाइकल बरामद गरिएको छ ।
प्रहरीले संका लागि रोकेका बेला मोटरसाइकल चालक गस्ती टोलीलाई देखेपछि सवारीसहित भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान १ः४५ बजे भारततर्फ गइरहेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकललाई शंका लागेपछि जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडेर भागेका थिए । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त गस्ती टोलीले सोही स्थानमा मोटरसाइकल जाँच गर्दा करिब ३० किलो गाँजा फेला पारेको हो ।
बरामद मोटरसाइकल र गाँजा अहिले प्रहरी नियन्त्रणमा रहेको छ । फरार व्यक्तिको खोजी भइरहेको छ भने घटनासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमार्फत अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।