आइसिसी विश्वकप लिग २ अन्तर्गत चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै शानदार जित निकालेको छ ।
करण केसीको अविजित अर्धशतकले नेपाललाई विजयी बनाएको हो । फोर्थहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। जवाफमा नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको लागि करण केसीले ४१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै अविजित ६५ रन बनाएर टिमलाई नजिकबाट जित दिलाए । ओपनर कुशल भुर्तेलले ५३ रन, गुलशन झा ४२ रन, भीम सार्की ४० रन र कप्तान रोहित पौडेल ३७ रन बनाए ।
ओपनिङ साझेदारीमा कुशल भुर्तेल र आसिफ शेख (२० रन) ले ७२ रनको योगदान दिएका थिए । नेपालको मध्यमक्रमले केही कमजोर प्रदर्शन गरे पनि अन्त्यमा करणको धैर्यपूर्ण ब्याटिङ निर्णायक सावित भयो । स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले ३ विकेट लिए भने माइकल लिस्क र ज्याक जार्भिसले २-२ तथा जसपर डेभिडसनले १ विकेट लिए ।
यसअघि स्कटल्याण्डका चाल्र्स टेयर्सले ८० रन, फेन्ली म्याक्रिथले ५५ रन, कप्तान रिची बेरिङ्टनले ४० रन, म्याथ्यु क्रसले ३९ रन र अन्य खेलाडीले सन्तुलित योगदान दिएका थिए । नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २-२ विकेट, जबकि सन्दीप लामिछानेले १ विकेट लिए ।
नेपालले अब लिगको दोस्रो खेल नेदरल्यान्ड्सविरुद्ध यही जेठ २१ गते खेल्ने तालिका छ ।