सिम्रौनगढ नगरपालिका–६ अन्तर्गत सिम्रौनगढ बजार क्षेत्रमा माछा, मासु र मदिराको बिक्री तथा वितरणमा तीन दिनका लागि रोक लगाइएको छ ।
वडा कार्यालयका अनुसार नव निर्मित हनुमान मन्दिरमा आयोजित प्राण प्रतिष्ठा धार्मिक समारोहका कारण जेठ २१ गतेदेखि २३ गतेसम्म उक्त सामग्रीको कारोबारमा रोक लगाइएको हो । वडा अध्यक्ष नन्दकिशोर प्रसादले धार्मिक मर्यादा र शुद्ध वातावरण कायम राख्न प्रतिबन्ध लगाइएको जानकारी दिए ।
वडाबाट जारी सार्वजनिक सूचनामार्फत सम्बन्धित व्यवसायीहरूलाई सो अवधिमा माछा, मासु र मदिराजन्य वस्तुको कारोबार नगर्न आग्रह गरिएको छ । निर्णय स्थानीय प्रशासन र वडा कार्यालयको समन्वयमा कार्यान्वयन गरिने जनाइएको छ ।
हनुमान मन्दिरमा आयोजना हुने प्राण प्रतिष्ठा समारोह भव्य र मर्यादित रूपमा सम्पन्न गर्ने उद्देश्यले यस्तो निर्णय लिइएको बताइएको छ । धार्मिक कार्यक्रमको पूर्वसन्ध्यामा बुधबार स्थानीयवासी र भक्तजनहरूको सहभागितामा कलशयात्रा समेत निकालिएको थियो ।