बारा जिल्लाको कलैया उपमहानगरपालिकाबाट ठूलो परिमाणको नियन्त्रित लागूऔषध नाइट्राभेटसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले १ हजार ३५ ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–२७ निवासी १९ वर्षीय धिरेन्द्र कुशवाह, उपमहानगरपालिका–९ निवासी २० वर्षीय सुमन चौहान, उपमहानगरपालिका–४ निवासी २६ वर्षीय मुकेश साह कलवार र उपमहानगरपालिका–९ निवासी २४ वर्षीय प्रदिप कुमार साह रहेका छन् ।
प्रहरीका अनुसार, धिरेन्द्र र सुमन साइकलमा सवार अवस्थामा थिए भने उनीहरूको साथबाट १ हजार २० ट्याब्लेट नाइट्राभेट बरामद गरिएको हो। त्यस्तै, म.प्र.०३–००२ स ७५२८ नम्बरको अटो चलाइरहेका प्रदिप र सोही अटोमा सवार मुकेशको साथबाट १५ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस किसिमका लागूऔषध ओसारपसार तथा कारोवार विरुद्धको निगरानी अझ कडाइका साथ अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।
भिडियाे सामाग्री