सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको "ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२" आज विशेष समारोहका साथ समापन गरिएको छ ।
कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म संचालन भएको थियो । समापन समारोहमा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह सहभागी भए । विशिष्ट अतिथिका रूपमा उपप्रमुख इम्तियाज आलम, श्रीजंगका प्रमुख निराजन कटुवा, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगञ्ज अध्यक्ष हरी गौतम, लगायत सुरक्षा निकाय, संघसंस्था, पत्रकार तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले सडकमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउँदै, यस्ता कार्यक्रमलाई निरन्तरता दिन महानगरले साथ दिने प्रतिबद्धता व्यक्त गरे। उपप्रमुख आलमले ट्राफिक प्रहरीले सडक सुरक्षाको क्षेत्रमा गरेको प्रयासको सराहना गर्दै सप्ताहलाई स्थायी अभियानमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गरे भने स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.ना.नि. लोकराज भट्टले राखेका थिए । कार्यक्रम सञ्चालन वरिष्ठ सई गुणनिधि खकुरेलले गरेका थिए ।
ट्राफिक सप्ताहका दौरान विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिए, जसमा ट्राफिक नियम सम्बन्धी सचेतना र्याली, विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, पर्चा र पोस्टर वितरण, हेल्मेट वितरण, सवारी चेकजाँच लगायत कार्यक्रमहरू समावेश थिए ।
कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, पत्रकार र स्थानीय संघसंस्थाहरूको सहभागिता उच्च रहेको बताइएको छ। उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले कार्यक्रमबारे जानकारी दिएका थिए ।
सप्ताहभर सञ्चालन गरिएका कार्यक्रमहरूले सडक सुरक्षा, सवारी अनुशासन र दुर्घटना न्यूनीकरणमा प्रभावकारी योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।