सुनचाँदी तथा हिरा व्यापारमा लागेका व्यवसायीहरूले सुन र हिरालाई विलासिताको वस्तु मान्दै लगाइएको कर विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले सुनलाई विलासिताको वस्तु नमान्न आग्रह गर्दै सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन् । व्यवसायीहरू आन्दोलनमा उत्रिनुको मुख्य कारण सरकारको पछिल्लो कर नीतिलाई व्यवसायमैत्री नरहेको ठानिएको छ । उनीहरूको भनाइअनुसार, सुनचाँदी र हिराका गरगहना नेपाली सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनसँग गहिरो रूपमा जोडिएको छ, त्यसैले यसलाई विलासिताको वस्तु सरह व्यवहार गर्नु अन्यायपूर्ण छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूले उपभक्तामुखी र व्यवसायीमैत्री स्पष्ट नीति, नियमावली र निर्देशिका निर्माणको मागसमेत राखेका छन् । उनीहरूले सरकारसँग तत्काल वार्ता गरेर समस्या समाधान नगरे आन्दोलन अझ चर्काउने चेतावनीसमेत दिएका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा अन्य बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको हो । व्यवसायीहरूका अनुसार यस्तो कर व्यवस्थाले न केवल कारोबारमा प्रतिकूल असर पार्नेछ, उपभोक्तामाथि पनि अनावश्यक आर्थिक भार पर्नेछ ।