काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज बुढानीलकण्ठस्थित लामिछानेको निवासमा लामो छलफल भएको छ ।
करिब पाँच घण्टाभन्दा बढी चलेको छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेश, सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरण र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित विषयले प्राथमिकता पाएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार छलफलमा सरकारले ल्याउने तयारी गरेको अध्यादेशबारे पहिलो प्राथमिकताका साथ कुराकानी भएको थियो । त्यस्तै, सांसद खगेन्द्र सुनारसँग जोडिएको पछिल्लो विवादलाई गम्भीर रूपमा लिँदै त्यस विषयमा कानुनी वा अन्य कदम चाल्नेबारे पनि परामर्श भएको बताइएको छ ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ । इनम सापकोटासँग कार्कीको सम्बन्धबारे बाहिर आएका विषयमा सभापति लामिछानेले आफ्नो धारणा राखेको बताइएको छ ।
स्रोतका अनुसार बाहिर आएका विषय तथ्यमा आधारित नभएको भन्दै यस विषयमा संयमित ढंगले अघि बढ्नुपर्ने धारणा छलफलमा राखिएको थियो । प्रधानमन्त्री शाह भने कार्कीको विपक्षमा रहेको स्रोतको दाबी छ। यद्यपि, यस विषयमा प्रधानमन्त्री र रास्वपा सभापतिको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
यी तीन विषयबाहेक आगामी भारत भ्रमण तथा सरकारका अन्य नीतिगत र प्रशासनिक निर्णयबारे पनि समीक्षा र जानकारी आदानप्रदान भएको बताइएको छ ।
लामो समयसम्म चलेको छलफलका विषयमा भने प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवै पक्षका नेताहरूले औपचारिक जानकारी दिएका छैनन् ।