सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका–१३, ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४, नखिपोटका ६० वर्षीय प्रेम नारायण खनाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मन्त्रालयको उच्च तहमा पहुँच रहेको विश्वास दिलाएर सर्वसाधारणलाई कृषि अनुदान सहजै उपलब्ध गराइदिने प्रलोभन देखाउँदै उनीहरूले रकम असुल्ने गरेका थिए । जालिम सिंह महतोले दिएको जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार आरोपीहरूले कृषि अनुदान मिलाइदिने भन्दै पीडितहरूलाई विभिन्न बहाना बनाएर पटक–पटक गरी कुल ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
यस ठगीसम्बन्धी मुद्दामा नेपाल सरकार वादी रहेको छ भने पूजा खड्गीसहित अन्य व्यक्तिलाई पनि प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको छ । सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले अदालतबाट म्याद थप भएसँगै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।