नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिको आयोजनामा सोमवार सखुवाप्रसौनी गाउँपालिका–स्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल पारसनाथ महादेव मन्दिर परिसरमा सामूहिक पूजापाठ सम्पन्न भएको छ ।
पूजापाठ कार्यक्रममा सनातन हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता तथा आम नेपाली जनताको सुख, शान्ति र समृद्धिको कामना गरिएको आयोजकले जानकारी दिएका छन् । पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको नेतृत्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ नेता सन्तोषानन्द महाराज, केन्द्रीय सदस्य विनोदप्रसाद कुर्मी, पारस द्विवेदी, प्रमोद शर्मा, राजेश साह कलवार, सहकोषाध्यक्ष सन्तोष कुशवाहालगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित श्रद्धालुहरूद्वारा वैदिक विधिअनुसार पूजा, आरती तथा मन्त्रोच्चारण गरिएको थियो । मन्दिर परिसर पूजाआराधना र मन्त्रोच्चारणले धार्मिक वातावरणमा परिणत भएको थियो ।
नेजपाले धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्दै सनातन मूल्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ ।