त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) मा एक भारतीय नागरिक १ किलोभन्दा बढी अवैध सुनसहित पक्राउ परेकी छिन् ।
मंगलबार राति एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी सुनसहित पक्राउ परेकी हुन् । प्रहरीका अनुसार खेमानीलाई विमानस्थलको आगमन भन्सार एरियामा शंका लागेपछि जाँच गर्दा अर्धठोस अवस्थामा रहेको सुन बरामद गरिएको हो । उनले प्लास्टिकले र्याप गरिएको तीनवटा डल्ला बनाई लुकाएको सुन भेटिएको छ । बरामद गरिएको सुनको तौल १ किलो १५९ ग्राम रहेको छ।
प्रारम्भिक अनुसन्धानमा सुनलाई नेपालमा अवैध रूपमा भित्र्याउने उद्देश्यले ल्याइएको हुनसक्ने प्रहरीको आशंका छ ।
खेमानीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनलाई आवश्यक प्रक्रिया पुरा गरी राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको पनि जानकारी दिइएको छ ।
विमानस्थलमा सुन तस्करी नियन्त्रणका लागि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री