एसीसी पुरुष यु–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
आइतवार मलेसियामा सम्पन्न खेलमा नेपालले दिएको १३९ रनको लक्ष्य ३३.३ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको हो । टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । नेपालका बलरहरूले अनुशासित प्रदर्शन गर्दै सिंगापुरको ब्याटिङ लाइनअपलाई सम्हालिन दिएनन् ।
नेपालले जवाफी ब्याटिङमा संयमित प्रदर्शन गर्दै ४ विकेट गुमाएर सहज जित हासिल गर्यो । यस जितसँगै नेपालले २ अङ्क जोडेको छ भने सिंगापुर प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ ।
नेपाली टोली गत महिना सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदर्शनका आधारमा छनोट गरिएको हो । प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’ मा परेको छ जहाँ उसको प्रतिस्पर्धी टोलीहरूमा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।
नेपाल हालसम्म भएका तीनवटै संस्करणको च्याम्पियन रहँदै आएको छ । दोस्रो खेलमा नेपालले मंगलबार जापानसँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो खेलमा अर्को साता आइतवार इन्डोनेसियासँग खेल्ने तालिका छ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
प्रतियोगिताबाट प्रत्येक समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी जुलाई ५ (असार २१) मा हुनेछ ।