जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् ।
मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको जानकारी गराए । उनले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमाथि तीव्र आलोचना गर्दै, वर्तमान सरकार संविधान, संघीयता र जनतासँग गद्दारी गर्ने प्रकृतिको भएको आरोप लगाए ।
“यो सरकार जनताको पक्षमा होइन, बिचौलियाहरूको लागि बनेको हो,” उनले भने, “यस सरकारलाई समर्थन गर्नु आफैँमा संविधानको अपमान हो ।”
अध्यक्ष यादवले सत्तागठबन्धनले जनताका सवालमा कुनै चासो नराखी केवल सत्तामा टिकिरहने, पद बाँडफाँट गर्ने, प्रशासन चलाउने र जनताको नाममा बजेटको सौदा गर्ने काममा मात्रै केन्द्रित रहेको आरोप लगाए ।
उनले अहिलेको गठबन्धन पूर्ण रूपमा असफल भइसकेको उल्लेख गर्दै भने, “सरकारको संविधान संशोधन गर्ने कुनै चाहना छैन, उनीहरूले केवल सरकार बनाउन राजनीतिक स्टन्ट मात्र गरेका छन् ।”
यादवले वर्तमान राजनीतिक नेतृत्व पुरानो, थकित र सत्ता मोहमा रुमल्लिएको आरोप लगाउँदै अब देशलाई यस्ता अनुहारहरूबाट मुक्त गर्नुपर्ने बेला आएको टिप्पणी गरे ।