नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका अध्यक्ष रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू प्रयासरत रहेको बताएका छन् ।
मंगलबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् ।
सञ्चारकर्मीले ‘भिजिट भिसा प्रकरणमा रास्वपाले आफ्नो अडान कायम राखेको छ, तपाईंहरूको धारणा के हो ?’ भन्ने प्रश्नमा जवाफ दिँदै प्रचण्डले भने, “म अहिले पनि रास्वपालाई केही भन्न चाहन्नँ। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिमसम्म प्रयास गरेको हुँ, अझै गर्दै छु। रास्वपाका साथीहरूले एकदिन सबै बुझ्नुहुन्छ ।”
त्यस्तै, उनले भिजिट भिसा प्रकरणसम्बन्धी अध्ययन तथा छानबिन समिति सरकारको पहलमा गठन गरिएको भए पनि उक्त समिति सत्तारूढ दलहरूको आपसी सहमतिमा बनाइएको बताएका छन् ।
उनका अनुसार समितिको संरचना, अधिकार र कार्यक्षेत्र सबै पक्षको छलफल र सहमतिमा टुंगिएको हो ।