नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको बरहथवा घटनामा पीडित परिवारमाथि अन्याय भए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बरहथवा नगरपालिका–४ खैराटोलमा असार महिनाको शनिबार बिहान सडक विस्तारको क्रममा भएको झडपमा आठ जना स्थानीयवासी घाइते भएका थिए । घाइतेहरूमा टीकाबहादुर कार्की, कुलबहादुर कार्की, सञ्जय कुशवाह, रमेश महतो, इन्दु देवी, प्रदीप कुशवाह, अनिल कुशवाह र उमेश महतो रहेका छन् । घटनामा केही सुरक्षाकर्मी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वमन्त्री सिंहले मंगलबार घटनास्थल पुगेर घाइते तथा पीडित परिवारसँग भेटघाट गरेका थिए । त्यसपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले पीडितलाई पिडक बनाउने प्रयास भयो भने कांग्रेस चुप लागेर नबस्ने स्पष्ट पारे । "आवश्यक परे कडा आन्दोलनमा जान तयार छौं," सिंहले भने ।
उनले घटनाको सत्य, तथ्य र निष्पक्ष ढंगले छानबिन गर्न माग गरे । "जो सुकै पार्टीको, जुनसुकै पदमा रहेका व्यक्ति भए पनि दोषी पाइएमा कडा कारबाही हुनुपर्छ," उनले जोड दिए ।
पूर्वमन्त्री सिंहले अराजकता फैलाउने, संरक्षण दिने र घटना गराउने व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध गरेका छन् ।
उनका स्वकीय सचिव निकेश त्रिपाठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सर्लाहीमा यस्ता लगातार घटिरहेका आपराधिक घटनाले जनतामा गहिरो त्रास सिर्जना गरेको छ । साथै, सुरक्षा निकायप्रति जनविश्वास कमजोर बनिरहेको छ ।”
यसअघि सडक विस्तारका क्रममा केही महिलामाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानीयवासी आक्रोशित बनेका थिए ।