मधेश प्रदेशको बारास्थित सिमरामा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय तीव्र रूपमा देखापरेका मानव–बन्यजन्तु द्वन्द्वका कारण र समाधान उपायबारे छलफल गरिएको छ ।
बन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रम ‘बन तथा बन्यजन्तु व्यवस्थापन’ विषयमा केन्द्रित थियो । कार्यक्रममा बन्यजन्तु संरक्षण प्रयासमा स्थानीय तह, समुदाय, सरकारी निकाय तथा सरोकारवाला संस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा सहभागीहरूले व्यक्त गरे ।
मधेश प्रदेशभित्र रहेका बन तथा बन्यजन्तुको संरक्षण र उचित व्यवस्थापनका लागि सरोकारवालाबीच साझा बुझाइ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बन तथा बन्यजन्तुको महत्व, संरक्षण, व्यवस्थापनका विविध पक्षमा विस्तृत रूपमा छलफल गरिएको थियो ।
विशेषगरी बन्यजन्तुको बासस्थान संरक्षण र त्यसको प्रभावकारी व्यवस्थापन, सम्बन्धित ऐन, नियम तथा प्रावधानहरूबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रमको अध्यक्षता मन्त्रालयकी प्रशासन तथा योजना शाखा प्रमुख अञ्जना कायस्थले गर्नुभयो । उहाँले दिगो बन तथा बन्यजन्तु व्यवस्थापनका लागि नीति तथा कानुन मात्र नभई व्यवहारमा कार्यान्वयन हुने संयन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक भु–संरक्षण अधिकृत नवोनारायण मिश्रले कार्यक्रमको उद्देश्य तथा विषयवस्तु प्रस्तुत गर्दै सहभागीबीच गहन छलफल गराउनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बन व्यवस्थापनसँगै बन्यजन्तुको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले मानिस–वन्यजन्तु द्वन्द्वका कारण कहिले मानिसले त कहिले बन्यजन्तुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै डिभिजन बन कार्यालयहरूले संरक्षणमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा डिभिजन बन कार्यालयका बन अधिकृत संजय चौधरी र जेडएसएल (ZSL) का प्रचण्ड महर्जनले बन तथा बन्यजन्तु संरक्षणसम्बन्धी प्रस्तुति दिएका थिए ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।