नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन जारी राख्दै तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले पराजित गरेको छ ।
मलेसियाको सेलाङ्गोरमा आइतबार सम्पन्न खेलमा नेपालले बल र ब्याटमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको हो । पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा इन्डोनेसियाले २४.३ ओभरमा मात्र ५० रन बनाएर सम्पूर्ण विकेट गुमायो ।
नेपालका बलर विपिन शर्माले घातक बलिङ गर्दै ६ विकेट लिए । उनले ७.३ ओभर बलिङ गर्दै २ मेडनसहित जम्मा १२ रन खर्चिए । बलिङतर्फ नेपालका लागि यो अहिलेसम्मको सर्वोत्कृष्ट प्रदर्शन हो ।
ब्याटिङमा नेपालका प्रसिद्धले शतकीय पारी खेल्दै टोलीलाई बलियो आधार दिए । उनले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १३२ रनको योगदान दिए । त्यस्तै परिमार्जन यादवले २८ बलमा आक्रामक शैलीमा ७१ रन बनाए भने रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन र जोय थापाले ४१ बलमा ५७ रन जोडे । सुगम बुढाथोकीले पनि ३९ रनको उपयोगी योगदान दिए ।
यस शानदार जितसँगै नेपालले समूह 'ए' मा ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा नेपालको अबको यात्रा सेमिफाइनल सुनिश्चित गर्ने दिशामा अघि बढिरहेको छ ।