मधेश प्रदेश सरकारले भारतबाट नेपाल आउने पर्यटकहरूलाई सीमानाकामा हुने अनावश्यक झन्झट हटाउन विशेष पहल थालेको छ ।
प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले मधेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाउँदै भारतीय पर्यटकप्रति सहजीकरण गर्न निर्देशन दिएका हुन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पठाइएको सो पत्रमा, भारतबाट नेपाल घुम्न आउने पर्यटकहरूलाई सुरक्षा चेकजाँच लगायत विभिन्न प्रक्रियाका नाममा अनावश्यक झन्झट दिइएको तथा असहज व्यवहार गरिएको गुनासोहरू प्राप्त भएको उल्लेख छ ।
मन्त्री कुशवाहाले ती गुनासोहरूलाई गम्भीरतापूर्वक लिँदै, भारतीय पर्यटकलाई सहज रूपमा प्रवेश दिने वातावरण बनाउन निर्देशन दिएका हुन् । साथै, पर्यटकमैत्री व्यवहार अपनाउन र आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
यस पहललाई मधेश प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ । सीमामा सहज वातावरण बनाउने हो भने भारतबाट आउने पर्यटकको संख्यामा वृद्धि हुने र त्यसले स्थानीय होटल, यातायात, व्यापारलगायतका क्षेत्रमा प्रत्यक्ष आर्थिक लाभ पुर्याउने विश्वास लिइएको छ ।
उक्त पत्रको बोधार्थ गृह मन्त्रालय (सिंहदरबार), मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सञ्चार तथा कानून मन्त्रालयलाई समेत पठाइएको छ ।