संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि आयोगका पदाधिकारी नियुक्तिमा २५ लाख रुपैयाँ घुसको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मुलुकभर राजनीतिक र नैतिक तहमा ठूलो हलचल उत्पन्न भएको छ ।
उक्त अडियोमा गुप्ताले खुलेर घुसको रकमको चर्चा गरेका छन् भने भूमिसुधार तथा सहकारी मन्त्री बलराम अधिकारीमाथि पनि पैसा खाइसकेको आरोप लगाएका छन् । यसरी प्रत्यक्ष घुस लेनदेनको वार्तालाप बाहिर आउँदा पनि प्रधानमन्त्रीको मौनता र सुस्त प्रतिक्रिया लोकतान्त्रिक शासनप्रति गम्भीर प्रश्न खडा गरिरहेको छ ।
सामान्य अवस्थामा दुई व्यक्तिबीचको निजी संवाद सार्वजनिक गरिनु उचित नहुन सक्छ, तर जब त्यो संवादमा संघीय मन्त्रीले सरकारी पदमा नियुक्तिका सन्दर्भमा रकम लिएको कुरा स्विकारीरहेका हुन्छन्, त्यसले सार्वजनिक सरोकारको विषय उठाउँछ । यो प्रकरण कुनै सामान्य गोप्य कुरा होइन—यो देशको शासन प्रणाली, नीति निर्माण प्रक्रिया, र भ्रष्टाचारविरुद्धको लडाइँसँग प्रत्यक्ष जोडिएको मुद्दा हो ।
प्रधानमन्त्रीज्यू, तपाईंले बारम्बार “म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ” भनेर दोहोर्याउनुभएको छ। तर व्यवहारमा तपाईंको नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरू खुलेआम पैसाको डिल गर्दै हिँड्दा पनि त्यसप्रति चासो नदेखाउनु नैतिक अपमान मात्र होइन, जनविश्वासको गम्भीर क्षति पनि हो ।
अहिले तपाईंबाट अपेक्षा गरिएको पहिलो र मुख्य कदम भनेको—मन्त्री गुप्तालाई तुरुन्तै बोलाई अडियोमा सुन्निएको आवाज उनको हो कि होइन भनी औपचारिक रूपमा सोधपुछ गर्नु हो । उनले आवाज आफ्नो भएको आंशिक रूपमा स्वीकार गरिसकेका छन् । त्यसैले ढिला नगरी आवाजको फरेन्सिक परीक्षण गर्न निर्देश दिनुहोस् । यदि फरेन्सिक परीक्षणबाट प्रमाणित भयो भने मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुहोस्। यदि मिसमास प्रमाणित भयो भने छानबिनका लागि अख्तियारमा मुद्दा अघि बढाउनुहोस् र निष्पक्षता सुनिश्चित गर्नुहोस् ।
अर्का मन्त्री बलराम अधिकारीमाथि पनि गम्भीर आरोप लागिरहेको छ। गुप्ताले उनलाई 'तीनपाने रक्सी खुवाएर पैसा खुवाएको’ जस्ता गम्भीर टिप्पणी अडियोमा गरेका छन् । यो केवल संवाद होइन, मन्त्रीहरूको नैतिक पतन र सत्ता प्रयोगको दुरुपयोगको प्रमाण हो। उहाँमाथि पनि निष्पक्ष र निष्कपट छानबिन आवश्यक छ ।
प्रधानमन्त्रीज्यू, यस्तो गम्भीर घोटालामा पार्टीभित्रका गुटगत समीकरणभन्दा माथि उठेर सत्य र जनताप्रति जिम्मेवार भएर निर्णय गर्नुहुन्छ भने, त्यसले जनतामा नयाँ आशा जगाउनेछ। सुशासनका लागि तपाईंको भनाइ शब्दमा मात्र होइन, व्यवहारमा पनि देखिनु आवश्यक छ ।
यो प्रकरणले तपाईंको नेतृत्वको परीक्षण गरिरहेको छ—के तपाईं साँच्चै भ्रष्टाचारविरुद्धको कठोर अभियानमा प्रतिबद्ध हुनुहुन्छ, कि नारा मात्र हो ?
तपाईंका एक मन्त्रीमाथिको उजुरी अख्तियारमा पुगिसकेको छ, अडियो सार्वजनिक भइसकेको छ, नाम र रकम समेत खुलेको छ, अब ढिलो नगरी कार्यवाहीमा उत्रनुहोस्। अन्यथा, यो प्रकरणले तपाईंको नैतिक धरातललाई पनि ध्वस्त पार्नेछ।
नेपालमा सुशासनका लागि नयाँ नजिर स्थापना गर्ने हो भने—गुप्ता प्रकरणमा अब निर्णायक एक्सन लिनुहोस्। यही मौकाले तपाईंको दूरदृष्टि र नैतिक धरातलको परीक्षण गर्नेछ।
भिडियाे सामाग्री