चालू आर्थिक वर्ष २०८२/८३ का लागि जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको कर निर्धारणप्रति असन्तुष्टि जनाउँदै स्थानीय उद्योगी–व्यवसायीहरूले उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उप–मेयर भोला प्रसाद अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा विभिन्न शीर्षकमा लगाइएको कर अनुचित रहेको गुनासो गरिएको छ । खासगरी कबाडी वस्तु र मुख्य उत्पादनबीचको स्पष्ट पहिचान नहुँदा अनुचित रूपमा कर लागिरहेको उद्योगीहरूको आरोप छ। त्यसैगरी सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क, वातावरण संरक्षण शुल्कजस्ता शीर्षकमा पनि व्यवसायीहरूलाई अनावश्यक करको बोझ पारिएको उनीहरूको भनाइ छ ।
उद्योगहरूबाट निस्कने धुवा, धुलो र पानीको व्यवस्थापन उद्योगहरूले आफैं गरिरहेको हुँदा वातावरण संरक्षण शुल्कको औचित्य नरहेको उद्योगीहरूको तर्क छ । साथै, उत्पादनको उपफलस्वरूप निस्कने छाईं (शून्य मूल्यको वस्तु) को व्यवस्थापन पनि उद्योगहरूले नै गर्ने भएकाले त्यसमा प्रति ट्रक १,००० रुपैयाँ र प्रति ट्रेक्टर ३०० रुपैयाँ शुल्क लगाउनु अन्यायपूर्ण रहेको उनीहरूको भनाइ छ ।
शिवशक्ति ध्यु उद्योगका प्रतिनिधि प्रमोद पटेलका अनुसार, ‘पिना’ लाई कबाडी वस्तु होइन, मुख्य उत्पादनको रूपमा स्वीकार गरिनु पर्नेमा हचुवाको भरमा कर लगाइएको छ । नेपालबाट दोस्रो मुलुकमा समेत यसको निर्यात भइरहेकाले यसमा कबाडीको श्रेणीमा राख्नु अनुचित रहेको उनले बताए। साथै प्रति किलो ०.३ पैसाबाट ०.५ पैसा पुर्याएर ६७ प्रतिशत वृद्धि गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उद्योगीहरूको भनाइ छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले उपमहानगरपालिकाले कर निर्धारण गर्दा विस्तृत अध्ययन, सरोकारवालासँग परामर्श, र व्यावहारिक पक्षलाई ध्यान दि नु आवश्यक रहेको बताए। उद्योगी–व्यवसायीहरूसँग समन्वयबिना हचुवाको भरमा कर लगाउने प्रयास गरिएको भन्दै आन्दोलनको चेतावनीसमेत दिएका छन् ।