पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका–३ स्थित नेपाल स्काउट आधारभूत विद्यालयमा रजिया स्मृति प्रतिष्ठानले खानेपानी प्रणाली जडान गरिदिएको छ । घरेलु हिंसाबाट ज्यान गुमाएकी रजिया खातुनको सम्झनामा स्थापना गरिएको उक्त प्रतिष्ठानले यो पहल गरेको हो ।
नयाँ प्रणाली जडान भएपछि विद्यालयमा अध्ययनरत करिब ५०० विद्यार्थी र शिक्षक–शिक्षिकाले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । प्रतिष्ठानका अध्यक्ष तथा जनता समाजवादी पार्टी (जसपा) का नेता तबरेज अहमदले आफ्नै निजी खर्चमा उक्त प्रणाली स्थापना गराएका हुन् ।
जडित प्रणालीमा विद्युतीय मोटर, १ हजार लिटर क्षमताको पानी ट्याङ्की, पिउने पानीका लागि ५ वटा धारा र शौचालय प्रयोजनका लागि ७ वटा धारा समावेश छन् । शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष अहमदले खानेपानी प्रणालीको औपचारिक उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई औपचारिक रूपमा हस्तान्तरण गरे ।
विद्यालयका प्रधानाध्यापक प्रमोद चौरसियाका अनुसार उक्त प्रणालीले विद्यालयका सबै विद्यार्थी र कर्मचारीलाई राहत मिलेको छ ।
रजिया स्मृति प्रतिष्ठानले परिवारजनकै आम्दानीबाट बचत गरिएको रकम प्रयोग गरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ । गत वर्ष वीरगन्जका दिवंगत युवा पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारको लागि पनि प्रतिष्ठानले नगद ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।
नेता अहमदका अनुसार, रजिया खातुनको ९ वर्षअघि भारतमा विवाह भएको थियो। ससुराली पक्षबाट दिइएको निरन्तर शारीरिक र मानसिक यातनाका कारण उनको मृत्यु भएको थियो ।