रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे झुण्डिएको अवस्थामा भेटिएको र परिवारजनले गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगे पनि उनको ज्यान जोगिन सकेन ।
परिवारले उनलाई तत्कालै नजिकको स्वास्थ्य चौकी हुँदै गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएको थियो । तर, राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए ।
प्रजापति कटहरिया म्यूजिकल एफएममा कार्यरत थिए। प्रहरीका अनुसार उनी केही दिनदेखि पारिवारिक तनावमा थिए। प्रारम्भिक अनुसन्धानमा आत्महत्या गर्नुको कारण यही हुन सक्ने अनुमान गरिएको छ ।
तर, जेठ महिनाको अन्त्यतिर समाचार सामग्रीका कारण कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले धम्की दिएका थिए भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि उक्त विवाद समाधान भइसकेको दाबी प्रहरीको छ ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।