सर्लाहीको लालबन्दीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटना पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१ लचकास्थित सडकखण्डमा भएको हो ।
ज्यान गुमाउनेमा हरिवन नगरपालिका–४ निवासी ३१ वर्षीय रामबहादुर स्याङतान रहेका छन् ।
को १ ख ५९३८ नम्बरको तेल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।
ठक्करपछि गम्भीर घाइते भएका स्याङतानलाई तत्कालै लालबन्दीको मोडेल अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।
तर अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल मलंगवा लैजाँदै गर्दा बाटैमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
चालक पक्राउ
दुर्घटनापछि ट्यांकर चालक सुनसरी रामधुनी नगरपालिका–९ निवासी ३२ वर्षीय अरबिन्द महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरका सई भरत साहले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार सवारी दुर्घटनामा लापरबाहीको आशंका गरिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।