प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको अभाव समाधान गर्न तत्काल ५०० वटा डिप बोरिङ जडान गरिने घोषणा गरेका छन् ।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल, वडा नं. ६ मा निर्मित प्रसूति गृह र परवानीपुर गाउपालिकाकाे नवनिर्मित भवण उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिँचाइ र खानेपानीको समस्याबाट प्रताडित मधेसवासीको लागि तत्काल राहतस्वरूप डिप बोरिङ स्थापना गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले हवाई उडानमार्फत कार्यक्रमस्थल आउँदा सुक्खा जमिन देखिएको उल्लेख गर्दै, “मधेस प्रदेशका आठवटै जिल्लामा खानेपानी र सिँचाइका लागि आवश्यक व्यवस्था गर्न सरोकारवाला निकायसँग समन्वय गरी यथाशक्य चाँडो समाधान गरिनेछ,” भन्ने प्रतिबद्धता जनाए ।
उनले विशेषगरी सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँको अवस्था केही सहज भए पनि बाँकी सात जिल्लामा गम्भीर खडेरी समस्या रहेको र त्यसको समाधानमा संघीय सरकार लागि परेको बताए। प्रधानमन्त्री ओलीका अनुसार, सरकारले मधेसलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा अब किसान र प्रभावित जनताको पक्षमा विशेष कार्यक्रम ल्याइनेछ।

शिक्षामा जोड, भेदभाव नगरी सबैलाई विद्यालय पठाउन आग्रह
कार्यक्रमको दौरान प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको महत्त्व पनि जोड दिए। उनले भने, “जहाँ शिक्षा छ, त्यहाँ चेतनासहितको विकास सम्भव हुन्छ । शिक्षा नहुँदा गरिबी, अभाव र पछौटेपन व्याप्त हुन्छ ।”
प्रधानमन्त्रीले सबै अभिभावकलाई आफ्ना छोराछोरीलाई भेदभाव नगरी विद्यालय पठाउन आग्रह गर्दै शिक्षा नहुने हो भने परिवार, समाज र देशको समुन्नति असम्भव हुने बताए। उनले शिक्षा र चेतनालाई मधेसको दीर्घकालीन विकासको मुख्य आधारका रूपमा लिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीको यो भ्रमण मधेसमा खडेरी र विकासको संकटबीच संघीय सरकारको चासो र पहलका रूपमा हेरिएको छ । उनका घोषणाहरू कार्यान्वयनको चरणमा पुगेमा मधेस प्रदेशमा सिँचाइ तथा खानेपानीको दीर्घकालीन समाधान हुने अपेक्षा गरिएको छ ।
भिडियाे सामाग्री