सप्तरीको रुपनी गाउँपालिका–२, पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया पत्नी रामकुमारी खंग रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार बालेश्वरलाई आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो। उनलाई बचाउने प्रयासमा उनकी पत्नी रामकुमारी पनि करेन्टमा परेकी थिइन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ ।
स्थानीयवासीका अनुसार मृतक दम्पती मेहनती र सरल स्वभावका व्यक्ति थिए । उनीहरूको असामयिक निधनले गाउँमा शोकको वातावरण छाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।