बाराको श्री दुर्गा नमुना माध्यमिक विद्यालय, कलैया–७ बरेवा बैरियाका कक्षा १२ का विद्यार्थीहरूले वातावरणप्रतिको सचेतनासहित विद्यालयको सरसफाई अभियान सञ्चालन गरेका छन् ।
एक औपचारिक कार्यक्रममार्फत सुरु गरिएको उक्त सरसफाई अभियानमा विद्यार्थीहरूको नेतृत्व र सक्रियता देखिएको छ । सहभागी विद्यार्थी जयप्रकाश कुशवाहाका अनुसार केही दिनअघि सामाजिक परिवर्तन केन्द्र, काठमाडौँले विद्यालयमा सञ्चालन गरेको वातावरणसम्बन्धी तालिमले उनीहरूलाई सरसफाईप्रति सचेत र जागरुक बनाएको थियो ।
"विद्यालय वरिपरिको वातावरण सफा, हराभरा र सुन्दर बनाउने उद्देश्यसहित हामीले यो कार्यक्रम गरेका हौँ," कुशवाहाले भने । कार्यक्रमले विद्यार्थीहरूमा व्यक्तिगत, शैक्षिक र सामाजिक जिम्मेवारीबारे जागरुकता बढाएको उनको भनाइ थियो ।
कार्यक्रमको सभाध्यक्षता विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद यादवले गरेका थिए । उनले विद्यार्थीहरूको प्रयासको सराहना गर्दै विद्यालयको पूर्ण समर्थन रहने बताए। “यस्ता अभियानले विद्यार्थीलाइ जीवन उपयोगी सीप र सामाजिक नेतृत्व प्रदान गर्छ,” प्रधानाध्यापक यादवले भने ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादव प्रमुख अतिथि तथा उमाशंकर यादव विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम सञ्चालन कक्षा १२ की विद्यार्थी सिमरन खातुनले गरेकी थिइन् ।
सहजीकरण सामाजिक परिवर्तन केन्द्रको रहेको उक्त कार्यक्रममा केन्द्रका फिल्ड अफिसर विक्की महतोका अनुसार विद्यार्थीहरूले बनाएको योजनाअनुसार केन्द्रले सहयोगस्वरूप १० थान साना डस्टबिन, २ थान ठूला डस्टबिन र १५ थान झाडु उपलब्ध गराएको थियो ।
उक्त अभियानले विद्यालय परिसर मात्र होइन, विद्यार्थीको नेतृत्व विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।